आइतबार ०६ असोज, २०८१

नेपाली समय

Facebook Live Youtube Live

जेलबाट उद्धार गरिएका बालबालिकाकी ‘मामु’

मान्छेले सोच्दै नसोचेको जिम्मेवारी आइपर्दा कस्तो लाग्ला ? त्यो पनि सानो घटनाले जिन्दगीको बाटो फेरिन्छ र बाटो पहिल्याउँदै जाँदा विश्वभरि नै चर्चा पाइन्छ भने कस्तो महसुस हुन्छ होला ?

यस्तै घटनाले पुष्पा बस्नेतलाई जीवनको सुन्दर मोडमा पु¥यायो । पुष्पा सन् २०१२ को सिएनएन हिरो र सन् २०१६ को सिएनएन सुपरहिरो हुनुहुन्छ । गोलकास्ट डट कमले सार्वजनिक गरेको सर्वेक्षणले सन् २०१० देखि २०१९ सम्मको प्रेरणादायी व्यक्तित्वमा नेपालकी समाजसेवी पुष्पा बस्नेत पहिलो नम्बरमा पर्नुभएको थियो ।

उहाँ ब्याचलर्स इन सोसल वर्क (बिएसडब्लु) पढ्दै हुनुहुन्थ्यो । यो विषय पढेका विद्यार्थीले विभिन्न मानवसेवाका थलोहरू चहारेर सामाजिक कार्य गर्नुपर्छ । त्यही क्रममा उहाँ एक दिन भद्रगोल जेलमा पुग्नुभयो । त्यहाँ विभिन्न कारणले जेल परेका आमाहरूका साना नानीहरू देख्नुभयो । तीमध्ये एकजना बालिकाले उहाँको हातमा समातेको घटनाले नयाँ तरंग पैदा गरायो । 

‘यी बालबालिकाले कुनै अपराध गरेका थिएनन्,’ पुष्पा बस्नेत भन्नुहुन्छ, ‘उनीहरू उज्वल भविष्यका भागिदार हुन् । तिनीहरू जेलका पर्खालभित्र हुर्कनु न्यायसंगत हुँदै होइन । त्यसैले उनीहरूका निम्ति मैले केही गर्नैपर्छ ।’ त्यसपछि बाआमा जेलमा परेपछि तीसँगै बसिरहेका बालबालिकाहरूको उद्धार र शिक्षादीक्षाको काम सुरु गर्नुभएको हो । 

उहाँले सन् २००५ मे ११ तारिखका दिन नौजना सदस्यको नागरिकता लिएर संस्था दर्ता गर्नुभयो । संस्थाको नाम हो, प्रारम्भिक बालविकास केन्द्र अर्थात् अर्ली चाइल्डहुड डेभलपमेन्ट सेन्टर (ईसीडीसी) । जतिखेर उहाँ उमेरले २१ वर्षको मात्र हुनुहुन्थ्यो । 

सुरुमा सुन्धाराछेउ एउटा कोठा भाडामा लिएर बन्दीगृहका चारजना बालबालिकालाई बिहान ल्याउने, दिनभरि पढाउने र बेलुका जेलमै पुर्‍याउने गर्नुहुन्थ्यो । पछि काठमाडौं चपलीमा घर भाडामा लिएर स्याहारसुसार थाल्नुभयो । सुरुमा आफ्नै खर्चले तिनको रेखदेख, स्याहारसुसार र शिक्षादीक्षाको चाँजो मिलाउनु भयो । पछि दाताहरूको सहयोग लिनुभयो । 

धेरै बालबालिका जम्मा गर्नेभन्दा पनि भएकालाई राम्रो जीवन बिताउन सक्ने सक्षम बनाउने उहाँको उद्देश्य छ । उनीहरूको शिक्षा, स्वास्थ्य, लालनपालन, सीप विकासजस्ता सम्पूर्ण कार्य संस्थामार्फत् गरिँदै आएको छ । हालसम्म डेढ सयजनाभन्दा बालबालिकालाई जेलबाट उद्धार गरेर हुर्काइसक्नुभएको छ । अहिले २७ जना बालबालिका हुर्काइरहनुभएको छ । पुष्पालाई सबै बालबालिकाले ‘मामु’ भनेर बोलाउँछन् । बालबालिकाले बालगृहमा तेक्वान्दो, चर्या नृत्य, योगा कक्षा, संगीतजस्ता विषय सिक्न पाउँछन् । 

सीएनएन हिरो

विश्वका विभिन्न देशमा रहेर समाज सेवामा उल्लेखनीय योगदान दिनेमध्ये उत्कृष्ट व्यक्तिहरूलाई दिइने सम्मानको नाम ‘सिएनएन हिरो’ हो । अमेरिकी टेलिभिजन संस्था केबल न्युज नेटवर्क (सिएनएन) ले सन् २००७ देखि ‘सिएनएन हिरोज’ दिन थालेको हो । 

नेपालबाट सन् २०१० मा माइती नेपालकी संस्थापक अनुराधा कोइरालाले सीएनएन हिरो सम्मान पाउनुभएको थियो । यस्तै सन् २०१२ मा पुष्पा बस्नेत सिएनएन हिरो सम्मान पाउनुभयो । सम्मान (अवार्ड) प्रदान गर्न सुरु गरेको १० वर्ष पुगेको अवसरमा पूर्व सीएनएन हिरो मध्येबाट ‘सीएनएन सुपर हिरो’ अवार्ड प्रदान गर्दैै आएको छ । पुष्पा बस्नेतले सन् २०१६ को ‘सिएनएन सुपरहिरो’ पनि जित्नुभएको थियो ।