सोमबार ०८ पुस, २०८१

नेपाली समय

Facebook Live Youtube Live

इतिहास र संस्कृतिका गहन अध्येता

टण्डनले त्रिभुवन विश्वविद्यालयबाट ‘पशुपति क्षेत्रको साँस्कृतिक अध्ययन’ विषयमा विद्यावारिधि हासिल गर्नुभएको छ

विश्वप्रसिद्ध पशुपतिनाथको मन्दिर काठमाडौँ जिल्लाको काठमाडौं महानगरपालिका–८ बागमती नदी किनारमा अवस्थित छ । यो मन्दिर २४० हेक्टर जग्गामा फैलिएको छ ।

पशुपतिनाथ मन्दिरका चारै किल्लामा रहेको निश्चित तीर्थस्थललाई पाशुपतक्षेत्र भनिन्छ । ऐतिहासिक, धार्मिक, सांस्कृतिक थलो हो । धार्मिक तथा सांस्कृतिक पर्यटन केन्द्रका रूपमा परिचित छ । 

संयुक्त राष्ट्र संघको शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक संगठन (युनेस्को) ले पशुपतिनाथ मन्दिर र पाशुपत क्षेत्रलाई विश्व सम्पदा सूचीमा सूचीकृत गरेको छ । यस ऐतिहासिक, धार्मिक, सांस्कृतिक थलोको निरन्तर रेखदेख गर्ने निकायका रूपमा पशुपति क्षेत्र विकास कोष रहेको छ । 

यस धार्मिक, सांस्कृतिक क्षेत्रको ऐतिहासिक पक्षबारे धेरै धेरै अध्ययन अनुसन्धान भएका छन् । यहाँ के–कस्ता सम्पदाहरू छन् र तिनको विशेषता के हो भन्नेबारे निश्चित मानिसलाई मात्र थाहा छ । पाशुपत क्षेत्रको भौतिक, सांस्कृतिक, आध्यात्मिक, सैद्धान्तिकलगायत पक्षको अध्ययन गरेका व्यक्तिहरूमध्येका हुनुहुन्छ– डा. गोविन्द टण्डन । 

पाशुपत क्षेत्र नजिकै काठमाडौंको बत्तीसपुतलीमा २०१२ वैशाख १९ मा उहाँको जन्म भएको हो । डा. टण्डनले त्रिभुवन विश्वविद्यालयबाट ‘पशुपति क्षेत्रको साँस्कृतिक अध्ययन’ विषयमा विद्यावारिधि (पीएचडी) हासिल गर्नुभएको छ ।

उहाँ इतिहास तथा संस्कृतिविद् हुनुहुन्छ । उहाँले पशुपति क्षेत्र विकास कोषको नेतृत्व पदमा रहेर काम गरिसक्नुभएको छ । उहाँले कोषको कोषाध्यक्ष भएर पनि काम गर्नुभयो । यसैगरी दुई पटक सदस्य–सचिव भएर काम गर्नुभएको छ । 

‘डाक्टर टण्डन संस्कृतिविद् हुनुहुन्छ,’ वास्तुशास्त्री डा. वासुदेवकृष्ण शास्त्री भन्नुहुन्छ, ‘उहाँ पाशुपत क्षेत्रको गहिरो अध्यता, अनुसन्धाता, पशुपति बागमती आरती सेवा समितिका संस्थापक सल्लाहका, मानव सेवा आश्रमका प्रमुख संरक्षक हुनुहुन्छ ।’ 

डा. टण्डनले अध्ययन, अनुसन्धान गरेर पशुपतिनाथ क्षेत्रसम्बन्धी पुस्तक प्रकाशन गर्नुभएको छ । जसमा ‘पशुपति क्षेत्रको साँस्कृतिक अध्ययन, भाग १’, ‘पशुपति क्षेत्रको साँस्कृतिक अध्ययन, अभिलेख खण्ड भाग २’, ‘पशुपति क्षेत्रका मठ, मन्दिरहरूको सञ्चालन र अवस्था’ लगायत १४ वटा अनुसन्धान पुस्तकहरू छन् । 

नेपाली सामाजिक परम्परामा देवी–देवताका मठमन्दिरहरूमा पशुपंक्षी बलि दिने प्रथा छ । पशुपंक्षी बलिको अन्त्य हुनुपर्छ भन्दै उहाँले ‘पशुवलि निषेध चेतना अभियान’ पनि चलाइरहनुभएको छ ।