आइतबार ०६ असोज, २०८१

नेपाली समय

Facebook Live Youtube Live

कालजयी र खारिएका बालगीतहरूका सर्जक

‘जमुनीको छोरो’, ‘आमाजस्ती गुरुमा’, ‘आइतबार बिहानै’ उहाँ आफैंलाई मन पर्ने गीत हुन् । यी गीतहरु बालबालिकाका जीब्रोमा झुण्डिएका छन् ।

रामबाबु सुवेदी साहित्यकार हुनुहुन्छ । विशेषगरी बालसाहित्यमा उहाँको योगदान छ । उहाँका बालसाहित्यका धेरै पुस्तक प्रकाशित छन् । 

कास्की जिल्लाको रूपा गाउँपालिका–७, हंसपुरमा २००४ सालमा जन्मनुभएका सुवेदी हंसपुर गाउँको स्वच्छ, सुन्दर र मनोहर वातावरणमा हुर्कनुभएको हो ।

उहाँ ६ वर्ष पुग्दानपुग्दै पिताको निधन भयो । उहाँले पिँढीशिक्षाको रूपमा बृहस्पति न्यौपानेबाट अक्षर चिन्नुभयो । बिस्तारै अमरकोश, चण्डी, रुद्री पढ्नुभयो । गाउँकै प्रभात प्राइमरी स्कुलबाट पाँच कक्षा पास गरेपछि पोखराको सोल्जर्सबोर्ड स्कुल (हालको अमरसिंह स्कुल) बाट एसएलसी गर्नुभयो । काठमाडौंको सरस्वती क्याम्पसबाट आईए र त्रिचन्द्रबाट बीए (अनर्स) गर्नुभयो ।

आमा पवित्रा सुवेदीको काखमा बसेर अनेक लोककथा सुन्दै हुर्कनुभएका रामबाबुलाई गाउँका भजन, चुड्का र लोकगीतहरूले सानैदेखि प्रभाव पारेका थिए । प्रकृतिको अथाह भण्डारले पनि उहाँको प्रतिभालाई कुत्कुत्याइरह्यो । छिमेकका दुई कवि डिठ्ठा श्रीप्रसाद घिमिरे र भद्रकाली खनालका रसिला कविताबाट पनि उहाँको प्रतिभामा असर पर्दै गयो । 

गाउँबाट पोखरा र पोखराबाट काठमाडौँ आइपुगेपछि भानुभक्त पढ्नुभयो, लेखनाथ पढ्नुभयो, माधव घिमिरे पढ्नुभयो । महाकवि देवकोटा, युगकवि सिद्धिचरण श्रेष्ठ, कवि भूपि शेरचन र पारिजातलाई पनि पढ्नुभयो । 

कविताले कविता लेख्ने उत्प्रेरणा जगायो ।

२०२२ सालमा वनारसबाट निस्कने भानुदय पत्रिकामा उहाँको प्रभात शीर्षकको पहिलो कविता छापियो । उनको कवितायात्राको यो  प्रथम बिन्दु थियो । 

बीसको दशकदेखि सुवेदी निकै सक्रिय रहनुभयो । यस समयमा पद्य कविता पनि लेख्नुभयो, गद्य कविता पनि लेख्नुभयो । बालकविता र बालगीत लेख्नुभयो । लु सुन (काव्य), कमिनी आमा (कवितासङ्ग्रह) र जमुनीको छोरो (बालगीतसङ्ग्रह) उहाँका उपनाममा निस्कियो । गङ्गा (कवितासङ्ग्रह), बाँ बाँ बाच्छी (बालगीतसङ्ग्रह) र पानी पानी (बालकाव्य) रामबाबु नाममै प्रकाशित भए । 

उहाँ आईए पढ्दापढ्दै शिक्षण पेसामा पनि संलग्न हुनुभयो । उहाँले रामकोट मावि हंसपुर, कास्की, शौभाग्योदय हाइस्कुल अल्काटार, लमजुङ, त्रिभुवन आदर्श मावि फर्पिङ, काठमाडौं र बुढानीलकण्ठ स्कुल, काठमाडौँ गरी पैंतीस वर्षसम्म लगातार नेपाली विषय पढाउनुभयो । 

कवि सुवेदीका पैंतीस पुस्तक प्रकाशित भइसकेका छन् । यसका साथै पाठ्यक्रम विकास केन्द्रबाट शिक्षासम्बन्धी सालोटा कृति पनि प्रकाशित छन् । यी कृतिहरूमा धेरैजसो बालकृति छन् । बालकृतिमा पनि बालकविता र बालगीतका सङ्कलनहरू धेरै छन् । उहाँका बालकविता र बालगीत अत्यन्तै माझिएका र खारिएका छन् ।

बालबालिकाको मनोविज्ञानलाई बुझेर तनुकूलको प्रस्तुति दिनमा उहाँ खप्पिस हुनुहुन्छ । उहाँका रचनामा गाउँको सुगन्ध छ । भाषा सरल, आकर्षक र मनोहारी छ । 

धरतीमा जूनकिरी उहाँका बालगीतको सचित्र संग्रह हो । यसमा सोह्रवटा गीत समेटिएका छन् । सबै गीत मीठा छन् । यसमा सङ्कलित गीतहरू कालजयी छन् । यी गीतहरू नेपाली बालबालिकाका मुखमुखमा छन् । कतिपय गीतहरू २०४२ सालदेखि नै रेकर्ड भएका पनि छन् ।

‘जमुनीको छोरो’, ‘आमाजस्ती गुरुमा’, ‘आइतबार बिहानै’ उहाँ आफैंलाई मन पर्ने गीत हुन् । यी गीतहरु बालबालिकाका जीब्रोमा झुण्डिएका छन् । उहाँका सबैजसो गीतहरु बालबालिकाले मन पराएका छन् ।