आइतबार ०६ असोज, २०८१

नेपाली समय

Facebook Live Youtube Live

सेरेनाको कुक्की

‘अहो ! कुक्कीलाई फ्याँक्यौ ? रिसले आफैंलाई दुःख दिन्छ । धेरै रिस गर्नु हुन्न भनेर कति भन्नु हँ ? ल हिँड खोज्न...।’

पुतलीलाई र कुक्कीलाई सेरना अति माया गर्थिन् । पुतलीलाई नचाउँदै र कुकुरलाई मुसार्दै उनी यसो भन्थिन्—

‘पुतली नि राम्री छिन्

कुक्की त्यस्तै राम्रो 

सबैले भन्ने गर्छन् 

जोडा मिल्छ हाम्रो ।’

एक दिन स्कुलबाट फर्किंदा जब कोठामा पुतलीको हात भाँच्चिएको देखिन् । उनलाई रिसको पारो चढ्यो । पुतलीलाई मुसारेर रुँदै भनिन्— ‘बदमास कुक्की, मैले पुतलीलाई धेरै माया गरेँ भनेर मेरो पुतलीको हात भाँचिदिएको होलास् । हजुरआमाले जन्मदिनमा दिएको कति राम्रो पुतली थियो । म तँलाई पनि माया गर्थें नि ! अब मलाई तँजस्तो दुष्ट साथी चाहिँदै चाहिँदैन ।’ उनले घिसार्दै लगेर कुक्कीलाई गेटबाहिर राखिदिइन् ।  

कुक्कीलाई भुस्याहा कुकुरहरूले टोक्दै, लखेट्दै टाढा पुर्‍याए । पारक र रोहन स्कुलबाट फर्कंदै थिए । पारक र रोहनले सानो राम्रो कुक्कीलाई भुस्याहा कुकुरहरूले टोकेको देखे । पारकले ढुङ्गा उचाले र कुकुर नजिक जाँदा एउटा कुकुरले पारकको खुट्टामा झम्टियो । पारकलाई साह्रै दुख्यो । 

रोहनले पारकलाई तान्दै भने— ‘यो लफडामा नलाग यार ! खुरुक्क हिँड ।’

पारक रोहनलाई ‘तिमी जाऊ’ भन्दै फलफूल पसलतिर लागे । रोहन रिसाउँदै गए । पारकले पसलबाट उखुको डाँठ लिएर कुकुरलाई हानेजस्तो गरे । कुकुरहरू डराएर भागे ।  कुक्की कुक्रुक्क परेर पेटीमा गएर बस्यो । पारकले सानो कुक्कीलाई बोकेर ‘नडराऊ’ भन्दै घरमा ल्याए । 

बाहिर निस्किँदै गरेकी इन्दिराले कुकुर र छोरालाई देखेर छक्क पर्दै भनिन्— ‘हैन कसको कुकुर ल्याएको ? अर्काको कुकुर ल्याउँदा सजाय हुन्छ भन्ने तिमीलाई थाहा छैन ?’

पारकले रुन्चे स्वरमा भने— ‘सबै थाहा छ ममी ! बीच बाटोमा यसलाई भुस्याहा कुकुरहरूले टोकिरहेका थिए, त्यसैले ल्याएको हुँ । मलाई पनि त भुस्याहा कुकुरले टोक्यो । यिनको पनि जीउभरि घाउ छ ।’

इन्दिराले छोराको पेन्ट तानेर हेर्दै आँखाभरि आँसु पारिन्— ‘हेर, यत्रो घाउ भएको रहेछ । ल हातमुख धोएर छिटो खाजा खाऊ । तिमीहरू दुवैलाई रेबिजको सुई दिनुपर्छ । घाउमा औषधि लगाउनुपर्छ ।’

आमाको कुराले पारक खुसी भए । बल्ल उनलाई दुखाइको आभास भयो । दुखाइको र सेरेनाको मायाले होला कुक्कीले केही खाएन । कुक्कीले केही नखाएपछि पारकलाई पनि केही खान मन लागेन । इन्दिराले दुवैलाई भेटेनरी डाक्टर कहाँ लगिन् । 

 यता बेलुकीपख आमाले दूध खान दिँदा मेचमा अल्झिएर सेरेनाले कप फुटाइन् । त्यसपछि उनलाई झलक्क कुक्कीको याद आयो । उनले रुँदै भनिन्— ‘ला ! मैले पनि दूध पिउँदा कप नै फुटाएँ । अहो ! कुक्कीले पनि मैले जस्तै झुक्किएर नै पुतलीको हात भाँचेको रहेछ । मैले उसलाई सित्तै फ्याँकें । ममी ! छिटो कुक्कीलाई खोज्न जाऊँ न छिटो...।’

सफलताले फुटेको कप टिप्दै भनिन्— ‘अहो ! कुक्कीलाई फ्याँक्यौ ? रिसले आफैंलाई दुःख दिन्छ । धेरै रिस गर्नु हुन्न भनेर कति भन्नु हँ ? ल हिँड खोज्न...।’

बिनाले सफलतालाई रोक्दै भनिन्— ‘हैन सफलताजी, किन आत्तिँदै नबोली हिँड्नुभएको हँ ? केही नराम्रो त भएन ?’ 

सफलताले अगाडि लाग्दै भनिन्— ‘ए ! बिनाजी पो, हेर्नुहोस् न कुक्की हराएको पीरले तपाईंतिर ध्यान नै गएन । अहिले हतार छ जाऊँ है ?’

बिना ‘हुन्छ’ भन्दै आफ्नो बाटो लागिन् । सेरेनाले हिँड्दै गरेको आशिषतिर हेर्दै रुन्चे स्वरमा भनिन्— ‘आशिष, तिमीले कतै मेरो कुक्कीलाई देखेनौ ?’ 

आशिषले सम्झेझैँ गरी भने— ‘ए ! त्यो तिम्रो कुक्की पो हो ? मैले त ठ्याक्कै कुक्कीजस्तै अरू कुकुर पो भन्ठानेको थिएँ । त्यसलाई त हामी जत्रै केटाले बानेश्वर चोकतिर पो लग्दै थिए ।’

आशिषको कुराले सेरेना रोइन् । सफलताले छोरीलाई फकाउँदै घर फर्काइन् ।

दिन, हप्ता र महिना गर्दै एघार महिना बित्यो । सेरेनाले कुक्कीको मायामा रोएर केही दिन बिताइन् । उता कुक्कीले पनि केही दिन निराश भएर केही खाएन । पारकको परिवारले अति नै माया गरेपछि कुक्की उनीहरूसँग झ्याम्मिँदै गयो । पारक र कुक्की साह्रै मिल्ने साथी भए । पारकले उसलाई आफ्नो नामसँग मिल्ने पार्ली नाम दिए । हाँसीखुसीमा नै पारक र पार्लीको दिन बित्दै गयो । 

एक दिन साँझपख हावाहुरी, असिनाको वास्ता नगरी दुई जना बच्चा टुप्लुक्क पारकको घरमा पुगे । पारकले रुन्चे स्वरमा भने— ‘तिमीहरू अवश्य कुकुर लिन आएका हौला । बिन्ती बाबाले लन्डनबाट ल्याइदिएको यो उड्ने प्लेन लग तर यो पार्लीलाई नलग । अहो ! हेर त, तिमीहरूलाई देखेर झ्यालमा क्यारक्यार गरेको, म बाहिर ल्याउँछु उसलाई । तिमीहरूले यो कुकुर यहीँ छ भनेर चाहिँ कसरी थाहा पायौ ?’

आशिषले भने— ‘हेर न, तिम्रो घरमा हिजोदेखि दूध ल्याउने दाइले भन्नुभएको हो । उहाँले सेरेनाको घरमा धेरै पहिलादेखि दूध ल्याउनुहुन्थ्यो । उहाँले भन्नुभएपछि हामी यहाँ कुक्कीलाई लिन आएका हौँ ।’

पारकले कुक्कीलाई बाहिर ल्याए । कुक्की झम्टिएर सेरेनासँग गयो । सेरेनाले कुक्कीलाई बोकेर रुँदै भनिन्— ‘कुक्की मलाई माफ गर है । तिमीले जानेर पुतलीको हात भाँचेको होइन रहेछ । गल्ती सबैले गर्छ भन्ने कुरा मैले पनि बुझेँ । तिमी हराएपछि त खान, पढ्न पनि मन लाग्दैन ! सधैँ सपनामा पनि तिमीलाई नै देख्छु । कुक्की आयो भन्दै जुरुक्क उठ्छु तर... । कुक्की, तिमीले धेरै राम्रो साथी पायौ । हेर, मलाई तिम्रो प्लेन चाहिँदैन बरु कुक्कीलाई भेट्न आइरहन्छु है ? यहाँ आउन त्यति टाढा पनि त छैन नि !’ 

पारकले आँसु पुछ्दै भने— ‘हेर, तिमीले बोक्दा कुक्की खुसी भएर पुच्छर हल्लाएको, उसलाई आजजति खुसी मैले कहिल्यै देखेको थिइनँ । तिमी नै लग उसलाई, बरु म नै उसलाई हेर्न आउँला, हुन्न ?’

सेरेनाले कुक्कीलाई मुुुुसार्दै भनिन्— ‘साथी ! तिमी त साह्रै ज्ञानी पो रहेछौ । हुन्छ, तिमी जहिले पनि आउन सक्छौ । तिमीलाई भेट्दा कुक्की मात्र होइन, हामी पनि खुसी हुन्छौँ । बाई, आउँदै गर है... ।’

‘हुन्छ आउँछु, बाई !’ भन्दै पारक रुँदै कोठाभित्र पसे । पार्लीले पारक घुँक्क गरेर रोएको सुन्यो । उसले पारकले आफूलाई भुस्याहा कुकुरबाट बचाएको, औषधि लगाइदिएदेखि घरमा लिएर आएको, सँगै खाएको, खेलेको सबै सम्झ्यो ।

कुक्की फुत्त सेरेनाको हातबाट फुत्किएर दौड्दै पारकसँग आयो । ओछ्यानमा सुतेर रोइरहेको पारकलाई चाट्न थाल्यो । पारकले आँसु पुछ्दै कुकुरलाई मुसारे ।  सेरेना पनि आँखाभरि आँसु पार्दै आएर पारकको कोठातिर हेर्दै भनिन्— ‘साथी, कुक्की तिमीसँग बस्दा खुसी हुन्छ । हामीले हाम्रो होइन, उसको खुसी हेर्नुपर्छ । बाई साथी, बाई कुक्की, बाई !’ 

कुक्की (पार्ली) ले कुइँकुइँ गर्‍यो । पारकले हात उठाएर बाई गरे । सेरेनाले आँखाभरि आँसु पार्दै बाहिर आएर भनिन्— ‘आशिष हिँड, मेरै भूलले गर्दा कुक्की उनको भयो । ऊ जहाँ रहुन्छ, खुसी रहोस् ।’

आशिषले अगाडि लाग्दै भने— ‘कुक्कीले हामीलाई बडो सोचविचार गरी काम गर्नुपर्छ भन्ने पाठ सिकायो, होइन त ?’

 एघार वर्षकी सेरेनाले आँखाबाट झरेको आँसु पुछ्दै हो भन्ने सङ्केत गरी मुन्टो हल्लाइन् तर ओठ भने चल्न सकेन । 

(शिक्षा : कुरै नबुझी छिटो निर्णय लिँदा पछुतो हुन सक्छ त्यसैले जे काम गर्दा पनि सोचविचार गरेर गर्नुपर्छ ।)

ललिता ‘दोषी’

(ललिता ‘दोषी’ २०४१ सालमा ‘शुभकामना’ शीर्षकको कविता प्रकाशन गरी नेपाली साहित्यमा प्रवेश गर्नुभएकाे हाे । उहाँका तीन दर्जनभन्दा बढी साहित्यिक कृतिहरू प्रकाशित छन् ।)