आइतबार ०६ असोज, २०८१

नेपाली समय

Facebook Live Youtube Live

देशकै पुरानो मद्रसा इस्लामिया स्कुल

यहाँ नेपाली, अंग्रेजी, गणित, विज्ञान, सामाजिक, सामान्यज्ञान, स्वास्थ्य तथा शारीरिक शिक्षा, नैतिक शिक्षा, ऐच्छिक गणित, ऐच्छिक लेखा र कम्प्युटर विषय पनि पढाइ हुन्छ

काठमाडौंको घण्टाघरसँगै छ– मद्रसा इस्लामिया स्कुल । धेरैलाई लाग्न सक्छ– मद्रसामा नानी–बाबुहरूलाई धार्मिक शिक्षामात्र पढाइन्छ । तर, त्यस्तो होइन । 

यहाँ नेपाली, अंग्रेजी, गणित, विज्ञान, सामाजिक, सामान्यज्ञान, स्वास्थ्य तथा शारीरिक शिक्षा, नैतिक शिक्षा, ऐच्छिक गणित, ऐच्छिक लेखा र कम्प्युटर विषय पनि पढाइ हुन्छ । उर्दु, अरबी, कुरआन र दिनियात जस्ता विषयहरु दैनिक पठनपाठन हुन्छ ।

यो इस्लामिक स्कुल हो । छात्राहरू शिरदेखि पाउसम्म छोपिने कुर्ता–सलवार र टाउकोमा सेतो हिजाब लगाएर आउँछन् । शिर, घाँटी, कपाल, दुवै कान छोपिने गरी हिजाब पहिरिन्छन् । छात्राहरू सर्ट, पेन्ट, शिरमा सेतो नमाजी टोपी, कालो जुत्ता र खरानी रङ्गको मोजा लगाउँछन् । यो उनीहरूको युनिफर्म हो र सबै विद्यार्थीलाई अनिवार्य छ । यसैगरी हिफ्ज शोभा र नाजरामा पढ्ने विद्यार्थीले टाउकोमा सेतो नमाजी टोपी, कुर्ता र पाइजामा लगाउँछन् । 

‘मद्रसा’ अरबी भाषाबाट आएको शब्द हो । जसको अर्थ इस्लामिक स्कुल वा कलेज भन्ने हुन्छ । यो मद्रसा विक्रम संवत् (वि.सं.) १९९६ सालमा स्थापना भएको हो । देशभरिका इस्लाम धर्मावलम्बीहरूका कुनै पनि छोराछोरी आफ्नो भाषा, धर्म, संस्कृतिबाट बञ्चित हुन नपरोस् भन्ने उद्देश्यले मद्रसा स्थापना गरिएको हो । यसको संस्थापक मौलाना हयात हुसैन नदवी हुनुहुन्छ । उहाँको देहान्त भइसकेको छ ।

नेपाली जामे मस्जिद सञ्चालक समिति र विद्यालय व्यवस्थापन समितिअन्तर्गत मद्रसा सुचारु छ । यो मद्रसा स्थापना भएको ८५ वर्ष पुगेको छ ।

विसं. २०५२÷५३ सालदेखि मूलधारको शिक्षासँग समाहित गरिएको छ । त्यसयता ‘इस्लामिक शिक्षा र आधुनिक शिक्षा मद्रसाको प्रतिवद्धता’ नारासहित पठनपाठन हुँदै आएको छ । नेपाल सरकारबाट स्विकृत पाठ्यक्रम पठनपाठन हुँदै आएको छ । निजी धार्मिक गुठीअन्तर्गत यो मद्रसा दर्ता भएको छ । 

अहिले नर्सरीदेखि कक्षा १० सम्म पठनपाठन हुँदै आएको छ । प्रिन्सिपल फिरोज खानले दिनुभएको जानकारीअनुसार अहिले २२५ जना विद्यार्थी पढ्छन् । उनीहरूमध्ये एकजना छात्रा गैरमुस्लिमी हुनुहुन्छ । सबैले न्यूनतम शुल्क तिर्दछन् । नियमानुसार कुल विद्यार्थीमध्ये प्रत्येक कक्षाबाट १० प्रतिशतले गरिब तथा जेहेन्दार छात्रवृत्ति पाएका छन् । 

सबैले न्यूनतम शुल्क तिर्दछन् । पढाउनका निम्ति ८ जना पुरुष र १३ जना महिला गरी २१ शिक्षक हुनुहुन्छ । १३ शिक्षिकामध्ये ८ जना गैरमुस्लिम हुनुहुन्छ ।

स्कुलमा कक्षाकोठाको अतिरिक्त विज्ञान प्रयोगशाला, कम्प्युटर प्रयोगशाला, पुस्तकालय, शिक्षक र शिक्षिकाको अलग कक्ष, अभिभावक तथा पाहुना कक्षका साथै, छात्राहरुको नमाजका लागि छुट्टै हल व्यवस्था गरिएको छ । 

युकेजीदेखि सबैले उर्दु भाषा सिक्नुपर्छ । नास्तालिक लिपि (अक्षर) को अभ्यास भने कक्षा नर्सरीदेखि नै गराइन्छ । कक्षा ४ देखि अरबिक लिपिमा लेखिएका पाठ्यपुस्तक पढाइन्छ । वाक्य बनाउन सिकाइन्छ । कक्षा २ देखि ७ सम्म कम्प्युटर विषयको ज्ञान दिइन्छ ।

यहाँ पढ्न आउनेमा काठमाडौं र ललितपुर महानगरपालिका, मध्यपुर ठिमी, तारकेश्वर, कागेश्वरी मनोहरा र चन्द्रगिरि नगरपालिकाका विद्यार्थी छन् । विद्यार्थी बोक्न मद्रसाको आफ्नै चारवटा गाडी छन् । खेल मैदानको भने अभाव छ ।

इस्लाम धर्मसम्बन्धी पढ्ने विद्यार्थीका निम्ति छात्रवासको व्यवस्था छ । ३६ छात्र आवासीय रूपमा पढ्छन् । उनीहरू ८ देखि १७ वर्ष उमेर समूहका छन् । उनीहरू हिफ्ज र नाजरा पढ्छन् । उनीहरूले तीन वर्षसम्ममा ३० अध्यायको कुरान शरीफ कण्ठस्थ पार्नुपर्ने नियम छ । गत शैक्षिक सत्रमा ४ जना विद्यार्थाी कुरान शरीफ कण्ठस्थ पारेर हाफिजीको पदका लागि योग्य भएका थिए ।

यो मद्रसाबाट २०८० सालमा पहिलो पटक ९ जनाले एसईई दिएका थिए । सबै जनाले राम्रो नतिजा हासिल गरे । ४ जना ‘ए+’, २ जना ‘ए’ र बा“की ३ जना ‘बी+’ मा उत्तीर्ण भएका थिए ।

तुबा जैनबले सबैभन्दा बढी ३.८७ जीपीए प्राप्त गर्नुभएको थियो । उहाँ अहिले काठमाण्डु कलेज अफ सेन्ट्रल स्टेटमा विज्ञान विषय लिएर कक्षा ११ पढ्दै हुनुहुन्छ । यसैगरी ३.५४ जीपीए प्राप्त गर्नुभएका एजाज इकबाल अहिले टेकुस्थित लक्ष्मी शिक्षा सदनमा व्यवस्थापन विषयमा कक्षा ११ पढ्दै हुनुहुन्छ । 

तुबा र एजाजले आफ्ना अनुभवबारे एकापसमा रोचक संवाद (भिडियो हेर्नुहोस्) पनि गर्नुभएको छ ।