आइतबार ०६ असोज, २०८१

नेपाली समय

Facebook Live Youtube Live

'दाँत किराले खाने चकलेट खाएर हाेइन, सफा नगरेर'

बालबालिकामा दाँतका समस्याहरू केवल सौन्दर्यसँग मात्र सम्बन्धित हुँदैनन्, तिनीहरूले समग्र स्वास्थ्य र शारीरिक विकासमा पनि गम्भीर प्रभाव पार्दछन् ।

दाँतमा किरा लाग्नु, दाँत पलाउन ढिलाइ हुनु, दूधको दाँत समयमै नआउनु, गिजा सुन्निनु, रगत आउनु, दाँतको आकार असमान हुनु आदि बालबालिकामा धेरै हुने समस्या हुन् । 

केही बच्चामा पहिलो दाँत (दुधको दाँत) समयमै आउँदैन । सामान्यतया, बच्चाहरूको पहिलो दाँत ६ देखि १२ महिनाभित्र आउनुपर्छ । यदि दाँत आउन यो समयभन्दा धेरै ढिलो भएमा दन्त चिकित्सकको परामर्श आवश्यक हुन सक्छ ।

बालबालिकामा देखिने दाँतका मुख्य समस्या :

  • दुधको दाँत आउँदा पीडा हुने : बच्चाहरूको दुधको दाँत पहिलो पटक आउँदै गर्दा गिजामा पीडा र असहज महसुस हुने गर्छ । यसले बच्चाहरूलाई चिडचिडाहट, निद्रा बिग्रने र खानामा असहजता जस्ता लक्षण देखाउँछ ।

  • गिजा सुन्निने वा रगत आउने : दाँत सफा नगरेको कारणले वा मसिनो ब्रसले गिजामा चोट लागेर बालबालिकामा गिजा सुन्निने र रगत आउने समस्या हुने गर्छ ।

  • आकार सामान्यभन्दा फरक हुने : बच्चाहरूको दाँतको आकार सामान्यभन्दा फरक हुन सक्छ । यो समस्या जन्मजात रूपमा पनि हुन सक्छ वा कडा खानेकुरा चपाउँदा दाँत फुट्न सक्छ ।

  • ओपन बाइट : यो समस्या बच्चाको अगाडिको दाँतको माथिल्ला र तल्ला पंक्तिहरू एकअर्कासँग सम्पर्कमा नआउने कारणले हुन्छ । यसले चपाउन वा बोल्नमा समस्याहरू निम्त्याउन सक्छ । यो समस्या प्रायः औंला चुस्ने बानीका कारण हुन्छ ।

  • मौखिक संक्रमण : बच्चाहरूमा दाँत वा मुखको सफाइमा ध्यान नदिँदा ब्याक्टेरिया वा भाइरसको संक्रमण हुन सक्छ । यो संक्रमणले गिजा दुख्ने, मुखमा घाउ वा दाँत दुख्ने जस्ता समस्याहरू उत्पन्न गर्न सक्छ ।

  • दाँतको दुखाइ : दाँतमा किरा लाग्नाले वा दाँतको जरा संक्रमित हुनाले बच्चाहरूमा दुखाइ हुन सक्छ । यसले दाँत निकाल्नुपर्ने स्थिति पनि आउन सक्छ ।

  • दाँतको रंग परिवर्तन हुने : बच्चाहरूमा दाँतको रंग पहेँलो, खैरो वा हरियो हुन सक्छ । यो स्थिति सामान्यतया आहार, फ्लोराइडको मात्रा, दाँतको सरसफाइको कमी वा अन्य औषधिको सेवनका कारण हुन्छ । दाँतको रंग परिवर्तनले बच्चाको आत्मविश्वासमा पनि असर पार्न सक्छ ।

रोकथामका उपायहरू :

  • पर्याप्त क्याल्सियम, भिटामिन डी र अन्य आवश्यक पोषक तत्वहरू रहेको सन्तुलित आहार दिने ।

  • दाँत सफा गर्ने सही तरिका सिकाउने र उचित प्रकारको टुथब्रस प्रयोग गराउने ।

  • कडा वा चपाउन गाह्रो हुने मिठाइबाट बचाउने ।

  • औंला चुस्ने बानी भएमा त्यसलाई कम गर्न वा रोक्न प्रयास गर्ने । 

दाँतमा समस्या भएमा तत्काल के गर्न सकिन्छ, कसरी समस्याहरूलाई रोकथाम गर्न सकिन्छ र स्वस्थ दाँतको विकासका लागि बच्चाको आहारमा कस्तो ध्यान दिनुपर्छ भन्ने विषयमा हामीले डा. अनुपलाल राजबाहकसँग कुराकानी गरेका छौं ।