आइतबार ०६ असोज, २०८१

नेपाली समय

Facebook Live Youtube Live

नेपालभाषाका माध्यमबाट पढाइ

‘सकलसित ज्वजलपा !’ - सबैलाई नमस्कार !

हामी दरबारमार्गस्थित मोर्डन नेवा इङ्लिस स्कुल पुग्दा बालबालिकाहरू भर्खर आइपुग्दै हुनुहुन्थ्यो । अभिभावकले त्यहाँसम्म ल्याइपुर्‍याउनुभएको थियो । 

त्यो दिन गुरुपूर्णिमा थियो । नानीहरूका हातमा फूलका गुच्छा थिए । उहाँहरूले ती गुच्छालाई ‘ज्वजलपा’ भन्दै सर र म्यामहरूको हातमा थमाउँदै हुनुहुन्थ्यो । ‘गुरुपुर्णिमाय् भिंतुना’ (गुरुपुर्णिमाको शुभकामना) भन्दै सर, म्यामहरूले फूलगुच्छा लिएपछि ‘सुभाया’ (धन्यवाद) भन्नुभयो ।

स्कुलमा सबैजनाले नेपाल भाषामा बोलचाल गर्नुपर्ने नियम छ । नेपाल भाषालाई विशेषगरी नेवार समुदायले बोल्ने भाषाका रुपमा लिइन्छ । नेपालभाषा बागमती प्रदेशको सरकारी कामकाजको भाषा हो । 

१० बज्नै लागेकाले साना साथीहरू स्कुलको आँगनमा भेला हुनुभयो । अनि ‘सयौं थुँगा फूलका हामी’ राष्ट्रियगान गाउनुभयो । लगत्तै नेवारी भाषाको बालगीत बज्न थाल्यो । म्युजिकसँग ताली बजाउँदै साथीहरूले शारीरिक कसरत गर्नुभयो । दोहोरी खेलेजस्तै आधा स्वर यताबाट र आधा स्वर उताबाट गाएर सुनाउनु भयो । म्युजिक डान्स गर्नुभयो । सबैजनाले ‘क ख ग घ’ नेपाली बालगीत गाउनुभयो । अंग्रेजीमा पनि बालगीत गाउनुभयो । 

त्यसपछि एक–एक जनाले माइकमा गीत गाउनुपर्ने पालो आयो । समाइरा वैद्यले ‘ताप्ले वना च्वना जिम्बा’ बोलको गीत गाउनुभयो । त्यसपछि ‘माया मजुला’ र ‘दर्शन सलाम’ बोलको गीतमा सबैजना नाच्नुभयो । बोल्ने, नाच्ने, गाउने गरेपछि सबैजना फुरुङ्ग हुनुहुन्थ्यो । एकजना साथीचाहिँ अलि ढिलो आइपुग्नुभयो । सायद उहाँको मनखुस थिएन । सुँक्कसुँक्क गर्दै हुनुहुन्थ्यो । 

सबैजना हुरुरु कक्षा कोठामा पस्नुभयो । बर्खामासको बेला गर्मी छ । कक्षामा पंखा घुम्यो । सबैको पसिना सेलायो । अनि शिक्षकहरूले रुटिनअनुसारका क्रियाकलाप गराउन थाल्नुभयो । 

हामी युकेजीको कक्षाकोठामा छिर्‍यौं । आकृति श्रेष्ठले पढाइरहनुभएको थियो । दुई–चारजना नानीबाबुलाई नेपालभाषामा आफ्नो कुरा राख्न लगायौं । 

यो स्कुलमा प्ले ग्रुप (पीजी) देखि अप्पर किन्डरगार्टेन (युकेजी) सम्म पढाइ हुन्छ । धेरैजसो नानीबाबुहरु नेवार, तामाङ, क्षेत्री, बाहुन समुदायका हुनुहुन्छ । नेवारी भाषा बोल्नु हुन्छ । नेपाली र अंग्रेजी भाषा पनि सिक्नु हुन्छ । कक्षामा नेवारी संस्कृति, परम्परा, चाडवाडहरू सिक्नु हुन्छ ।

चाडपर्वमा सहरमा देखाइने जात्राहरू हेर्न जानुहुन्छ । धिम्या, छिस्या, भुस्यालगायत धेरै खालको बाजागाजा बजाएको हेर्नुहुन्छ । नेवारी परिकारहरू खान पराउनुहुन्छ । मठमन्दिर, संग्रहालयहरू जानुहुन्छ । 

बालबालिकालाई भरखर पढ्न सिक्दा मातृभाषामा पढाउँदा माथिल्लो कक्षामा सहज र राम्रो हुने अभिभावक सरिता सिंह बताउनु हुन्छ । ‘मेरो छोरा सक्षम महर्जन र छोरी मिसिका महर्जन पीजीदेखि युकेजीसम्म यहीं पढेका हुन्,’ उहाँ भन्नुहुन्छ, ‘नेवारी भाषा, संस्कार, सम्पदा, संस्कृति पढ्न पाएका छन् । हामीले घरमा बिर्सिसकेका भाषा र परम्परागत फेरि व्यवहार गर्न सकेका छन् । छोरा अहिले ६ कक्षा र छोरी २ कक्षामा पढ्छन् ।  

पाँच सय विद्यालयमा नेपालभाषा

मोर्डन नेवा इङ्लिस स्कुल सन् २००३ मा स्थापना भएको हो । सन् २००७ बाट ‘नेवा बस्ती, नेवा स्कुल’ अभियान जारी रहेको विद्यालयका संस्थापक तथा अभियानका संयोजक दीपक तुलाधर बताउनु हुन्छ ।

अहिले १२ स्कुलमा नेपालभाषा माध्यम भाषाका रूपमा पढाइन्छ । काठमाडौं महानगरका ९२ सामुदायिक विद्यालयमा विषयगत रूपमा नेपालभाषा संस्कृति पढाइन्छ ।

काठमाडौं उपत्यकाका विभिन्न करिब ५ सयवटा निजी बोर्डिङ स्कुलमा कक्षा १ देखि ८ सम्म नेपालभाषा विषयका रूपमा पढाइन्छ ।