आइतबार ०६ असोज, २०८१

नेपाली समय

Facebook Live Youtube Live

बालकथा – रुपीले हाँसको नक्कल गर्न खाेज्दा

हाँसको नक्कल गर्न खोज्दा रुपीले आफ्नै हिंडाइ बिर्सियाे

विभिन्न जातका चराचुरुङ्गीहरु आ-आफ्नै तरिकाले बाँचेका थिए । चराहरुले आफ्नो गुँड आफैँ बनाउँथे । उनीहरु आफ्नै समूहमा रमाउँथे । समूहअनुसार चराहरुको बास बस्ने गुँड भिन्नाभिन्नै थियो । 

चराहरुका केही बानी व्यहोरा मिल्दैनथ्यो तर धेरै आनीबानी मिल्थ्यो । तिनीहरु टाढाबाट चारो खोजेर ल्याउँथे । अनि बचेरालाई आफ्ना चुच्चाले ख्वाउँथे । कति चरा मानिसका घर आँगनमा चारो टिप्न आउँथे । कति चरा खेतबारीमा चारो खोज्न जान्थे । 

अनेक चराचुरुङ्गीसँगै रुपी जातका चरा पनि थिए । रुपीहरुको एकापसमा मेलमिलाप राम्रो थियो । आ-आफ्ना परिवारको गुड वरिपरि बनाएका थिए ।

एकदिन एउटा रुपीले हाँसको चालढाल देख्यो । रुपीलाई हाँसको चालढाल एकदमै राम्रो लाग्यो । हाँसको ढलकढलक हिँडाइ त झनै मनपर्‍यो । हाँसजस्तो हिंड्न पाए हुन्थ्यो भन्ने रुपीले सोच्यो । अनि हाँसको नक्कल गर्न थाल्यो । 

रुपीको चालढाल, हिंडाइ स्वाभाविक भएन । रुपीको नक्कल देखेर उड्दै गरेका भँगेरा छक्क परे । भँगेरालाई रुपी उत्ताउलिएको मन परेन । हाँसको नक्कल गर्न खोजेको भँगेराले थाहा पायाे । रुपी लचकलचक हिँड्दा लड्दै, उठ्दै गर्थ्याे । यस्तो देखेर भगेरालाई हाँस उठ्यो । अनि 'ए, रुपी दाइ, के हो' भनेर खिस्यायो ।

भँगेराले त्यसरी जिस्क्याउँदा  'ए डल्ले, तैँले मलाई किन जिस्क्याएको ? के मेरो हिंडाइमा तँलाई इर्ष्या लाग्यो । अब म पनि हाँसदाइझैँ लचक्क लच्किँदै हिँड्छु,' रुपीले घमण्ड गर्‍यो । 

रुपीको घमण्ड देखेर भँगेरा फिस्स हाँस्यो । अनि भन्यो, 'ए रुपी दाइ ! तिमीलाई अर्काको हिँडाइ हिँड्न सक्छु जस्तो लाग्छ ? जति नै कोसिस गर न तिमी जान्दैनौ । हाँस मामाको जस्तो हिँडाइ हिँड्न पटक्कै सक्दैनौ । यदि हिंड्न सक्यौ भने पनि तिमीलाई सुहाउँदैन । तिम्रो हिंडाइ नै तिम्रालागि सुहाउँदिलो र फुर्तिलो छ । अर्काको नक्कल कसैलाई पनि सुहाउँदैन बुझ्याै ? हामी सबैले आफ्नै खालको स्वभाव जन्मँदै लिएर आउँछौं । त्यसैले अर्काको नक्कल गर्न छाड । तिमीभन्दा म सानो छु तर मेरो कुरो मान । अनि अर्काको नक्कल गर्न छाडेर आफ्नै हिंडाइ हिंड ।'

यसबेला रुपीलाई भँगेराको कुरा ठिकै जस्तो लाग्यो । हाँसको हिँडाइ हिंड्न रुपीले कसै गर्दा सकेको थिएन । कोसिस गर्दागर्दा रुपी थाकिसकेको थियो । त्यसैले रुपीले आफ्नै हिंडाइमा हिंड्ने निर्णय गर्‍यो । त्यसपछि रुपीले आफ्नो हिंडाइको नै चाल गर्‍यो । निकै कोसिस गर्यो तर थाक्दै गयो । त्यसबेला पहिलाझैँ उसले हिंड्न जानेन । आफ्नो हिंडाइ हाँसको नक्कल गर्न खोज्दा रुपीले बिर्सिसकेछ । अनि केही सीप नलागेर लफ्राक-लफ्राक हिंड्न थाल्यो । 

अरु जस्तो नहुने कुरा उसले त्यसबेला जान्यो । आफूजस्तो अरु पनि हुँदैनन् भन्ने पनि चाल पायो । अर्काको नक्कल गर्ने हुँदा रुपीको हिँडाइ नै बिग्रियो । बिचरा रुपीलाई बेफाइदा भयो । 

त्यसै बेलादेखि रुपीको हिंडाइ लफ्राक-लफ्राक भयो । नक्कल गर्न खोज्दा आफ्नो नोक्सान भएकामा रुपी पछुतायो । 

लक्ष्मी उप्रेती

(साहित्यकार उप्रेती बनिता साहित्यिक पत्रिकाकाे सम्पादक हुनुहुन्छ ।)