आइतबार ०६ असोज, २०८१

नेपाली समय

Facebook Live Youtube Live

टुटेफुटेका सामानबाट जहाज बनाएर उडाउने सविन

पूर्वोत्तर झापाको बुद्धशान्ति गाउँपालिका–१ का १७ वर्षीय सविन बाँस्कोटा यतिवेला सामाजिक सञ्जालमा ‘भाइरल’ छन् । काम नलाग्ने भनेर फ्याँकिएका टुटे फुटेका सामान जोडजाम गरी हवाई जहाज बनाएर उडाएपछि उनले परिवारलाई मात्रै हैन, सिंगो गाउँ नै चकित पारेका छन् । 

‘बिग्रेर फ्याँकेका वस्तुबाट जोडजाम गर्दैगर्दा छोराले उपद्रो गरेझैं लागेको थियो,’ आमा चेलादेवी बाँस्कोटाले भनिन्, ‘हवाईजहाज नै बनाएर उडाएपछि चाहिँ छक्क परियो ।’ 

सविनाको  सानैदेखिको स्वाभाव चञ्चले थियो । घरमा ल्याएका नयाँ सामान खोलखाल पारेर पुनः जस्ताको तस्तै पारेर राख्थे । त्यसो गर्दागर्दै उनले नयाँ कुरा आविष्कार गर्न थाले । कक्षा ६ मा पढ्दै गर्दा एकदिन उनलाई अनौठो वस्तु बनाउने हुटहुटी जाग्यो । त्यही मेसोमा पुराना सामानको खोजबिन सुरु गरे । केही नयाँ सामान किनमेल पनि गरे, अन्ततः उनले आविष्कार गरे– रिमोटबाट चल्ने हवाईजहाज । उनले करिब वर्ष दिनजति लगाएर बनाएको हवाईजहाज उडाएर देखाए । ‘जहाज देखेपछि गाउँपालिका अध्यक्ष पनि छक्क पर्नुभयो,’ आमा चेलादेवीले भनिन्, ‘नयाँ कामका लागि सहयोग गर्ने आश्वासन दिनुभएको छ ।’ 

सविनका अनुसार जहाज बनाएर उडाउन निकै मिहिनत गर्नुपर्‍यो । पहिलो पटक जहाज त बन्यो तर उडेन । जहाज बनेपछि हौसिएका उनी नउड्दा भने निरास बने । तर, हरेश खाएनन् । दोश्रो, तेश्रो पटक प्रयत्न गर्दागर्र्दै जहाज उडाएरै छाडे । ‘जहाज आकाशमा उडेपछि ज्यादै खुसी भएँ,’ स्थानीय आदर्श मावि जयपुरमा १० कक्षाका छात्रले सगौरव सुनाए, ‘जीवनको सबैभन्दा खुसी क्षण त्यही हो मेरो ।’ 

उनले जहाज बनाएर उडाउन करिब ७० हजार खर्चिए । आमाले खाजा खान दिएको रकम जोहो गरेर राखेका थिए । त्यही रकमलाई जहाज बनाउन खर्च गरे । त्यतिले पुग्ने कुरा थिएन, अन्ततः आमाले गाई, बाख्रा बेचिन् । सुनार कहाँ गहना बुझाइन् अनि छोराको लक्ष्य पूरा गर्न सघाइन् । ‘छोराले जहाज बनाएर देखाउँछु भनेपछि मैले गहना बेचेर सहयोग गरिदिएँ,’ उनले थपिन्, ‘छोराको खुसी नै मेरो खुसी ठानें ।’ 

उनले जहाज मात्रै हैन, इलेक्ट्रिक बाइसाइकल पनि बनाएका छन् । साइकललाई उनले प्रविधि जडान गरेर बाइकको स्वरुपमा ढालेका छन् । विद्युतीय चार्जबाट चल्छ । एकपटक चार्ज गरेपछि २० किलोमिटर मज्जाले गुड्छ । प्रतिकिलोमिटर २५ को गतिमा दौडिन्छ । 

उनले महिला सुरक्षाका लागि अर्को अनौठो प्रविधि पनि बनाएका छन् । ब्याट्रीको सहयोगबाट निर्मित प्रविधिको सहयोगले महिलामाथि हुने आक्रमण र हिंसा रोक्न सहयोग पुग्ने उनको दाबी छ । ‘महिलालाई कसैले छुन मात्रै खोज्दा पनि करेन्ट लाग्छ।’ सविनले सुनाए, ‘यो गोजीमा बोकेर हिँड्न मिल्छ । बोक्ने मान्छेलाई लाग्दैन । आक्रमणकारीलाई मात्रै करेन्ट लाग्छ ।’  

उनको घरमा कहिल्यै लोडसेडिङ हुँदैन । बत्ती जानेबित्तिकै अर्को बत्ती बलिहाल्छ । 

उनी अहिले अनौठो ड्रोन बनाउने प्रयास गर्दैछन् । ‘फाइटर ड्रोन’ नाम दिएको उक्त वस्तुको मद्दतले हात्ती धपाउन पनि सकिन्छ । अढाई किलो भारी बोक्न सक्छ । ‘यो बनाउन २०/३० हजारजति खर्च लाग्ने देखिएको छ तर खर्च अभावले काम अघि बढाएको छैन,’ उनले दुःख पोखे । 

सात वर्षअघि पहाडी जिल्ला पाँचथरबाट परिवारसहित बसाइँ आएका सविनको भविष्यको योजना देशमै बसेर नयाँ चिज आविष्कार गर्नेछ । उनलाई विदेश जान फिटिक्कै मन छैन । युवा जमात पलायनप्रति उनी दुःखी पनि छन् ।

‘नयाँ वस्तु आविष्कार गरेर देशको नाम चिनाउने मन छ,’ इलेक्ट्रोनिक इञ्जिनियरिङ पढ्ने सपना देखेका उनले खाका सुनाए, ‘परिवारको आर्थिक अवस्था दयनीय छ । राम्रो कलेज पढ्ने मौका मिल्यो भने म देशका लागि केही न केही गरेर देखाउनेछु ।’