५० वर्षअघिकै संरचनामा वेद विद्याश्रम (भिडियाे)
३२ जनालाई आवासीय सुविधासहित पढाउने उद्देश्यले बनाइएकाे संरचनामा अहिले २५० बटुक अध्ययनरत छन्
नेपालको औपचारिक शिक्षा गुरुकुल पद्धतिबाट विकास भएको हो । गुरुकुल भन्नाले विद्यार्थीलाई भोजन र आवासको निःशुल्क व्यवस्था गरी पठनपाठन गराउने आश्रम, गुरुको सेवासुश्रूषा गरी विद्याको आर्जन तथा अध्ययन गरिने प्राचीन पद्धतिको विद्याकेन्द्र बुझिन्छ । गुरुकुल विद्याश्रममा संस्कृत भाषाका माध्यमबाट पठनपाठन, व्यवहार हुने गर्छन् ।
देशभरि गुरुकुल शिक्षा दिने अनुमति प्राप्त विद्याश्रम एक सयजति छन् । अनौपचारिक रूपमा सुचारु गुरुकुल विद्याश्रम त्यत्ति नै संख्यामा रहेको अनुमान छ । अनौपचारिक गुरुकुलमा सीमित संख्यामा मात्र बटुक रहन्छन् ।
काठमाडौंको गौशालास्थित नेपाल वेद विद्याश्रम २०३१ सालमा स्थापना भएको हो । यो विद्याश्रम सुरुमा गुठी संस्थानअन्तर्गत खोलिएको थियो । २०४१ सालदेखि पशुपति क्षेत्र विकास कोषअन्तर्गत सुचारु छ ।
५० वर्षअघि ३२ जना विद्यार्थीलाई आवासीय सुविधासहित पठनपाठन गराउने उद्देश्यले भवन संरचना निर्माण गरिएको थियो । सोही संरचना अहिलेसम्म कायम छ । अहिले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयअन्तर्गत रहेको विद्याश्रमको गुणात्मक विकास हुन सकेको छैन । विद्याश्रममा भौतिक संरचना स्थापना कालदेखिकै छ तर विद्यार्थीको संख्या थामिनसक्नु भएको छ ।
नेपाल वेद विद्याश्रममा कक्षा ४ देखि १२ कक्षासम्म पठनपाठन हुन्छ । यतिखेर यो विद्याश्रममा २ सय ५० बटुक (विद्यार्थी) पढ्छन् । यहाँ करिब ६० जिल्लाका विद्यार्थी छन् । प्राचार्य केशवप्रसाद अधिकारीका अनुसार वेद विद्याश्रममा पढ्दै गरेकामध्ये १०९ जनाले आवासीय सुविधा पाएका छन् । पाठ्यपुस्तक भने किनेरै पढ्नु पर्ने हुन्छ ।
उनीहरूलाई पढाउन २० जना शिक्षक हुनुहुन्छ । तीमध्ये ३ जना गुरुआमा हुनुहुन्छ ।
विद्याश्रममा शिक्षक र विद्यार्थीका निम्ति पोसाक तोकिएको छ । गुरुले दौरा, सुरुवाल, ढाका टोपी र गुरुआमाले सारी, चोलो पहिरिन्छन् । विद्यार्थीले दौरा, सुरुवाल र ढाका टोपी लगाउँछन् ।
हरेक बिहान प्रार्थना सकेपछि कक्षा प्रवेश गर्छन् । कक्षा कोठामा डेस्कमात्र व्यवस्था छ । बेञ्चको सट्टा भुइँमा काठमाथि फम र जरी (कार्पेट) बिछ्याइएका छन् । सबैजना भुइँमै बसेर पढ्छन् । वेद, कर्मकाण्ड पढाउँदा र पढ्दा भुइँमै बसेर पाठ गर्नुपर्ने नियम छ । विद्यार्थीले किताबका झोला भुइँमै राख्छन् । पढ्नुपर्ने पुस्तक झिकेर डेस्कमा राख्छन् । स्वरमा स्वर मिलाएर वेदका ऋचा पाठ गर्दछन् । गणित, अंग्रेजीलगायत विषय पढ्छन्, पढाउँछन् ।
बिहान उठेदेखि राति सुत्नुअघिसम्म वैदिक परम्पराअनुसार चरण–चरणमा मन्त्रोच्चरण गर्दछन् । बिहान र बेलुकाको समयमा सन्ध्या गर्दा, भोजन गर्दा धोती लगाउँछन् । स्वस्ति पाठन, सरस्वती वन्दनासँगै निधारमा चन्दन वा रातो टीका लगाउँछन् । प्रत्येक बटुकले सनातन परम्परामा चलेको संस्कारअनुसारको व्यवहार पालना गर्दछन् । ‘बटुकलाई हाम्रो धर्मशास्त्रले जेजस्तो प्रसंग सिकाउँछ, त्यही सिकाउँछौं,’ प्राचार्य अधिकारी भन्नुहुन्छ ।
छात्रावासमा बस्ने विद्यार्थी महिनाको अन्तिम शुक्रबार घर जाने छुट्टी पाउँछन् । कलिला उमेरका बटुकहरूको रेखदेखमा अभिभावकले सहयोग गर्दछन् ।
प्रतिक्रिया