आइतबार ०६ असोज, २०८१

नेपाली समय

Facebook Live Youtube Live

कसरी भयो निन्जा टेक्निकको विकास ?

कार्टुन सिरिज तथा फिल्महरूमा प्रयोग हुँदै आएको निन्जा टेक्निक वास्तवमा एउटा युद्ध कला हो

कार्टुन सिरिज तथा फिल्महरूमा प्रयोग हुँदै आएको निन्जा टेक्निक वास्तवमा एउटा युद्ध कला हो, जुन पुरातन समयमा जापानको एउटा जातिले विकास गरेको थियो ।

कराते, जिजुत्सु, जुडोजस्ता सबै मार्सल आर्टको उदय जापानबाट भएको थियो । जापानमा एकसेएक योद्धा थिए जसलाई समुराई भनिन्थ्यो । समुराई भनेका ती महान् योद्धा हुन् जसले युद्धका सबै रीति–रिवाज र नियम पालना गर्दथे । उनीहरू अनुशासित भएर इमानदारीपूर्वक लड्थे र हारे भने प्राण नै त्याग्थे । समुराईबाहेक जापानमा योद्धाहरूको अर्को वर्ग पनि थियो, जसलाई निन्जा भनिन्थ्यो । 

यो शब्द तपाईंले फिल्म, कार्टुन र भिडियो गेमहरूमार्फत् प्रसस्तै सुनेको हुनुपर्छ । फिल्ममा प्रायःजसो निन्जालाई कालो लुगामा देखाउने गरिन्छ । उसले तारा आकारको हतियार चलाउँछ र लुक्न माहिर हुन्छ । निन्जाको यो चरित्र केही हदसम्म सही भए पनि पूर्ण छैन । निन्जाले कालो लुगा मात्रै लगाउँदैनथे । उनीहरू भेष बदल्न माहिर थिए ।

यकीनका साथ निन्जा योद्धाको उत्पत्ति कहाँ भयो भन्न गाह्रो छ किनकि निन्जाको युद्ध कला जापानी समाजको तल्लो वर्गबाट उत्पन्न भएको थियो । यस अर्थमा उनीहरू समुराईभन्दा फरक थिए । उनीहरूसँग सिप त थियो तर उनीहरूलाई दोस्रो दर्जाका नागरिक मानिन्थ्यो । उनीहरू पिछडिएको वर्गबाट आएका थिए । त्यसैले इतिहासमा निन्जा योद्धाहरूको दस्तावेज खासै भेटिँदैन । 

बेलायती इतिहासकार स्टिफन टर्नबुलको पुस्तक निन्जा ः द ट्रु स्टोरी अफ जापान्स सेक्रेट वारियर कल्टका अनुसार १५औँ र १६औँ शताब्दीमा निन्जा योद्धाहरूको संस्कृति चरम सीमामा पुगेको थियो । त्यतिबेला सम्पूर्ण जापान सामन्ती शासकहरूको नियन्त्रणमा थियो । जब राजा कमजोर हुन्थे तब सामन्तहरू अफ्नो प्रभुत्वका लागि आपसमा लड्ने गर्थे । १५औँ शताब्दीमा यस्ता अनेकौं लडाइँ चलिरहन्थे । धेरैजसो सामन्तहरू लडाइँका लागि समुराई योद्धाहरूको सहयोग लिने गर्दथे ।

समुराई योद्धाहरू लडाइँका सम्पूर्ण नियम पुर्‍याएर लड्ने गर्दथे । उनीहरू छद्म युद्ध वा छापामार युद्ध गर्दैनथे, हाकाहाकी प्रत्यक्ष लड्थे । केही सामन्ती यस्ता थिए जो आफू जित्नका लागि कुनै पनि तरिका अपनाउन तयार हुन्थे । छापामार वा छद्म युद्ध गरेर पनि जित्न चाहन्थे तर यस्तो युद्ध गर्न समुराई तयार थिएनन् । त्यसैले उनीहरूले दुर्गम जंगलहरूमा बस्ने निन्जा भनिने नयाँ प्रकारका योद्धालाई भाडामा लिन थाले ।

निन्जा योद्धाको जीवन धेरै गोप्य र रहस्यमयी थियो । उनीहरूले अनुशरण गर्ने युद्ध कलालाई निन्जुत्सु भनिन्छ । पछि गएर यो युद्धकला जापानका बौद्ध भिक्षुहरूले पनि अपनाए । बौद्ध भिक्षुहरू शारीरिक रूपमा कमजोर थिए तर उनीहरूले आफ्ना चेलाहरूलाई लडाइँको यो प्रविधि सिकाए । 

विस्तारै यो कला फैलिँदै गयो र निन्जाहरूको एउटा समुदाय नै सिर्जना भयो जसले आफूलाई निन्जा लडाकु भन्थे । त्यसपछि उनीहरू आपूmलाई भाडाका लडाकुका रूपमा बेच्न थाले । उनीहरू योद्धा थिए तर प्रत्यक्ष रुपमा युद्धमा भने भाग लिँदैनथे । उनीहरू गोप्य तरिकाले युद्ध गर्दथे । निन्जा दिउँसो खेतीपाती गर्दै गरेका वा पसलमा काम गरिरहेका भेटिन्थे भने रातभर छद्म युद्ध गर्दथे । 

निन्जा बन्नका लागि सानै उमेरदेखि प्रशिक्षण सुरु हुन्थ्यो । निन्जा योद्धाहरूको मूल मन्त्र नै ‘गोपनीयता’ थियो । त्यसैले निन्जाका गुरुहरूले आफ्नो कलाको रक्षा आफ्नो जीवनको जसरी नै गर्ने गर्दथे । यो कला त्यत्तिकै जो कोहीलाई सिकाइँदैनथ्यो । कुनै पनि व्यक्ति निन्जा बन्नलायक छ कि छैन भन्ने जाँच्नका लागि धेरै वर्षसम्म परीक्षण गरिन्थ्यो । जब त्यो व्यक्तिले निन्जाको गोपनीयता सुरक्षित राख्छ भन्ने प्रमाणित हुन्थ्यो तब मात्रै उसलाई निन्जा कला सिकाइन्थ्यो । त्यसपछि निन्जाले सबै प्रकारका युद्धकला सिक्थे । उनीहरू मार्सल आर्ट, हतियार चलाउने कला, जासुसी, सामान्य वस्तुलाई हतियारका रूपमा प्रयोग गर्ने कलाजस्ता अनेकौं कला सिक्थे ।

निन्जाहरू गोप्य रूपमा जहाँ पनि पुग्न सक्षम थिए । यति मात्रै होइन, उनीहरू लुक्न र विभिन्न भेष धारण गर्न पनि माहिर थिए । उनीहरूको अनुहार सधैं कपडाको नकाबले ढाकिएको हुन्थ्यो, जुन कपडालाई औषधिमा भिजाइएको हुन्थ्यो । त्यो औषधिले भिजाइएको कपडा चोटहरूमा बाँध्न वा उपचारका लागि प्रयोग गरिन्थ्यो । 

तपाईंले टीभी वा फिल्ममा निन्जालाई ताराजस्तो हतियार प्रयोग गरेको अवस्थामा देख्नु भएको होला । वास्तवमा यो हतियार उनीहरूले कसैलाई मार्नका लागि प्रयोग गर्दैनथे । त्यो हतियार सत्रुलाई छक्याउन मात्रै प्रयोग गरिन्थ्यो । यसबाहेक निन्जा योद्धाहरूले एउटा छोटो तरबार प्रयोग गर्ने गर्दथे जसको एकछेउमा डोरी बाँधिएको हुन्थ्यो । यो तरबार पर्खाल चढ्न पनि प्रयोग गरिन्थ्यो जसलाई पछि डोरीको सहाराले तल तान्न पनि सकिन्थ्यो ।

निन्जा लडाइँमा माहिर थिए तर लडाइँलाई उनीहरू अन्तिम विकल्पका रूपमा मात्रै प्रयोग गर्दथे । निन्जाहरू हत्तपत्त कसैको अगाडि पर्दैनथे किनकि एकपटक उनीहरूको पहिचान खुलेपछि फेरि निन्जा बन्न सक्दैनथे । त्यसैले निन्जाले कसैलाई मार्नका लागि लड्नुभन्दा विष खुवाउने र विभिन्नखाले षड्यन्त्र गर्नेजस्ता अन्य विधि प्रयोग गर्थे । यी सबै विधि गोप्य तरिकाले प्रयोग हुन्थे । 

१६औं शताब्दीमा जापानमा निन्जा योद्धाहरूको माग धेरै थियो । उनीहरूको ख्याति चौतर्फी फैलिएको थियो । उनीहरू आफ्नो जन्मस्थानबाट जापानका अन्य क्षेत्रमा समेत पुगे जसका कारण ठूलाठूला सामन्तहरूले पनि उनीहरूलाई भाडामा लिए । त्यसबेला जापानमा गृहयुद्ध चलिरहेको थियो । निन्जाहरू गोप्य रूपमा काम गर्थे, त्यसैले सम्भ्रान्त मानिसहरू उनीहरूलाई दुष्ट ठान्थे । त्यसैले सन् १५८१ मा निन्जाहरूको इलाकामा आक्रमण गरेर  ठूलो संख्यामा उनीहरूको हत्या गरियो ।

१७ औं शताब्दीदेखि २ सय ५० वर्षसम्म जापानमा शान्ति छायो जसका कारण निन्जा योद्धाहरूको आवश्यकता कम भयो । अधिकांश निन्जा या त अंगरक्षकका रूपमा काम गर्न थाले वा शिक्षक बने । युद्धको गोप्य कला पनि विस्तारै–विस्तारै समाप्त हुँदै गयो । १९ औं शताब्दीसम्म निन्जाहरू लगभग पूरै लोप भइसकेका थिए । त्यसपछि उनीहरुको कलालाई कार्टुन सिरिज तथा फिल्महरुमा प्रयोग गर्न थालियो ।