आइतबार ०६ असोज, २०८१

नेपाली समय

Facebook Live Youtube Live

'ग्याजेटका कारणले चस्मा लगाउने केटाकेटीको संख्या बढिरहेको छ'

बालबालिकामा आँखाका समस्या धेरै देखिन्छन् । घाममा धेरै खेल्ने, धुवाँधुलोमा हिँड्ने, मोबाइल, कम्प्युटर चलाउने बालबालिकामा आँखाका समस्या चाँडै देखिने गरेको छ । ग्याजेटका कारणले चस्मा लगाउने केटाकेटीको संख्या बढिरहेको छ । धेरै ग्याजेट हेर्ने केटाकेटीमा मायोपिया भन्ने समस्या देखिने गरेको छ । 

दृष्टिदोष, अल्छी आँखा, छड्के आँखा, जन्मजात हुने मोती विन्दु, जलविन्दु, विभिन्न चोटपटक, संक्रमण (आँखा पाक्ने), एलर्जी, रतन्धो आदि बालबालिकामा धेरै हुने समस्या हुन् । परिवारको कुनै व्यक्तिलाई आँखासम्बन्धी समस्या छ भने बालबालिकामा पनि ती समस्या देखिने सम्भावना उच्च हुन्छ ।

बालबालिकामा आँखाको समस्या देखिँदा विभिन्न लक्षणहरु देखिने गर्छन् । नानी सेतो देखिनु, कुनै पनि वस्तु हेर्नु परे मुन्टो तथा अनुहार बंग्याउनु, आँखा छड्के देखिनु, आँसु आउनु, आँखा धेरै झिम्झिम गर्नु, आँखा रातो हुनु, चिलाइरहनु, टेलिभिजन नजिकबाट हेर्नुजस्ता मुख्य लक्षण हुन् ।  

बालबालिकामा यस्ता लक्षण देखिए तुरुन्तै आँखा जाँच गराउनुपर्ने तिलगंगा नेत्र विज्ञान प्रतिष्ठानकी बाल नेत्ररोग विशेषज्ञ डा. सिर्जना अधिकारी बताउनुहुन्छ । ‘कुनै समस्या नदेखिए पनि शिशु जन्मेको ४५ दिनदेखि दुई महिनामा एक पटक, ६ महिनामा एक पटक र स्कुल भर्ना हुने समय (३–४ वर्ष) मा एक पटक आँखा जचाउनु पर्छ,’ उहाँ भन्नुहुन्छ, ‘८–१० वर्ष नपुगुन्जेलसम्म प्रत्येक वर्ष आँखा जाँच गराउनु पर्छ ।’

पछिल्लो समय केटाकेटीले ग्याजेट प्रयोग गर्ने क्रम बढेको र यसले उनीहरुको आँखामा विभिन्न समस्या निम्त्याइरहेको अधिकारी बताउनुहुन्छ । उहाँका अनुसार धेरै ग्याजेट हेर्ने केटाकेटीमा मायोपिया, आँखा टेडो हुनेजस्ता समस्या देखिने गरेको छ ।

आँखामा हुने विविध समस्या र लक्षणबारे बालबालिका आफैंले थाहा पाउन नसक्ने भएकाले उनीहरुको स्वास्थ्य, आनीबानीमा अभिभावकले नै ख्याल गर्नुपर्ने डा. अधिकारीको सुझाव छ ।