सोमबार ०८ पुस, २०८१

नेपाली समय

Facebook Live Youtube Live

बालकथा – साथीको जुत्ता

आयुश्रीलाई देख्नासाथ सम्राट दौडेर उनीछेउ गयो । उसले पुष्पे खोलो बढेकाले जुत्ता फिर्ता गर्न नपाएको कुरा बतायो र जुत्ता आयुश्रीलाई दियो ।

सम्राट पुष्पे खोलाको वारिपट्टि किनारमा उभिएको थियो । ऊ सात वर्षको थियो । उसका हातमा कपडाका एक जोडी पुराना जुत्ता थिए । उतापट्टि अलि पर आयुश्रीेको घर थियो । बीचमा पुष्पे खोलो रातभरिको झरीले बहुलाएको थियो ।

किनारमा उभिएको सम्राटलाई तान्दै उसका काकाले भने, ‘हिँड् घर । कहाँ–कहाँ खोजिसकेँ, यहाँ पो रहेछ । गाडी जाने बेला भयो ।’ 

‘काका, एकछिन कुर्न भन्नुस् न । आयुश्रीलाई जुत्ता दिनुछ ।’ 

‘केको जुत्ता ? को आयुश्री ? यत्रो–यत्रो छैन, जुत्ता दिने भाको । हिँड् घर ।’

‘जान्नँ । आयुश्रीका स्कुल जाने...!’ 

काकाले जबरजस्ती लघारे । सम्राट रुँदैरुँदै उनीसँग गयो । आयुश्रीसँग उसको भेट हुनै पाएन ।

घरका सम्पूर्ण सामान लादेर ट्रक हिँड्यो । पर पुगुञ्जेल आँसुका पर्दाबाट भए पनि सम्राटले बाहिर हेरिरह्यो । पुष्पे खोला किनारमा आयुश्री उभिएर दुवै हात हल्लाइरहेकी  थिई । उसका खुट्टामा जुत्ता थिएनन् ।

सम्राटले हात हल्लाएर बोलाउन खोज्यो तर काकाले गाली गर्दै उसलाई सिटमा बस्न भने । आमाले पनि भन्नुभयो, ‘हैन चुर्ना परे कि क्या हो, यस केटालाई ? पटक्कै पो बस्दैन त चुप लागेर । यसका हात ऐले...’ 

चाँडै रात प¥यो । ट्रक अन्धकार चिर्दै अगाडि बढिरह्यो । रुँदारुँदा थकित भएको सम्राट भुक्लुक्क निदायो, आमाका काखमा । 

‘तिमी स्कुल जान पाइनौ है,’ ऊ निद्रामै बोल्यो । 

आमाले प्याट्ट पारेर सम्राटको खुट्टोमा थप्पड हान्नुभो । सम्राट चुप लाग्यो, अनि फेरि निदायो । 

‘अनि आमालाई के भनेऊ ?  खोलाले बगायो भनेऊ ?’ ऊ फेरि बर्बरायो । 

काकाले गालामा प्याट्ट पार्नुभो । सम्राट जुरुक्क उठ्यो, यताउती हे¥यो र पुनः निद्रामै डुब्यो । 

ट्रक गुडि नै रह्यो । पर पहाडमा कसैले कोइला छर्केजस्ता देखिने बिजुली बत्तीको उज्यालो हेर्दै उनीहरू अगाडि बढिरहे । 

उज्यालो हुने बेलामा फेरि सम्राट निद्रामै बर्बरायो, ‘आयुश्री, केही दिन पर्ख है । म छिट्टै ल्याइदिन्छु तिम्रा जुत्ता ।’ 

उनीहरू कहिल्यै नदेखेको कुनै गाउँमा पुगेपछि गाडी रोकियो । सामानहरू खसाइए, र एउटा बिरानो घरभित्र लगिए । बाबाले त्यस घरतिर देखाउँदै भन्नुभयो, ‘बाबु, यो हाम्रो नयाँ घर ।’

‘आयुश्री पनि आउँछिन् ?’

नयाँ गाउँ, नयाँ छिमेक । सम्राटले चिनेको कोही थिएन । सधैँ–सधैँ ऊ सपनामा बर्बराइरह्यो । बाआमाको कुटाइ पनि खाइ नै रह्यो तर बर्बराउन छोडेन । सपनामा आयुश्रीको नाउँ लिन छोडेन । उसका जुत्ताको कुरा गर्न छोडेन । 

हुँदाहुँदा केही दिनपछि ऊ सिकिस्त बिरामी भयो । ज्वरो आयो । ऊ दिनदिन मलिन र दुब्लो हुँदै गयो । औषधि ख्वाए तर बीसको उन्नाइस भएन । 

एक महिनामा सम्राट निकै थकित र दुब्लो भयो । खाना पनि उसलाई खासै रुच्दैनथ्यो । निद्रामा बर्बराउने बानीले त झन् सबैलाई कायल बनाइसकेको थियो ।

यत्तिकैमा एक दिन बुवाले भन्नुभो, ‘म पानीखेती जान्छु । बानियाँ कान्छा जौडे धामी हुन् । म उनलाई लिएर आउँछु ।’ 

‘म पनि जाने ।’ सम्राटले धौले छिक्यो ।

‘धत् ! के कुरा गरेको ? यस्तो बिरामी पनि जान्छ त पहाड ?’

‘जाने !’ सम्राटले प्याउलो स्वरमा जिद्दी कस्योे ।

कसै गर्दा नमानेपछि सम्राटलाई लिएरै जाने निर्णय भयो । उतै गाउँमै झारफुक गर्ने निधो गरे । भोलिपल्ट एकाबिहानै सम्राटलाई लिएर बुवा पानीखेती गाउँतिर लागे । सम्राटले प्लास्टिकको एउटा सानो पोको कम्मरमा लुकायो । बाटाभरि उसले पुराना दिन सम्झिरह्यो ।  

जुन दिन उनीहरू पानीखेती गाउँ छोडेर बसाइँ जान लागेका थिए, त्यही दिन पुष्पे खोला किनारको धुपीको रुखमुनि सम्राट र आयुश्रीेको बिहे गर्ने पालो थियो । निकै साथीहरू भेला भएका थिए । त्यो बेलासम्म सम्राटलाई बसाइँ जानेबारे केही थाहा थिएन । 

उनीहरूको बिहे सकियो । पुरोहित दिलीपेले उनीहरूले एक–एक ओटा चिनो एक–अर्कासँग साटासाट गर्नू भन्यो । सम्राट बिहेमा खालीखुट्टै थियो । आयुश्रीले उसलाई आफ्ना जुत्ता दिइन् । जुत्ता त क्या ठिक्क भएका ! केही बेरपछि आयुश्रीले भनिन्, ‘सम्राट, भोलि मेरा जुत्ता फिर्ता देऊ है । मेरा स्कुल जाने जुत्ता ।’

‘हुन्छ । आज म लाउँछु, अनि भोलि फिर्ता दिन्छु । अनि मचाहिँ तिमीलाई के दिन्छु भने... अँ, म भोलि नै भन्छु ।’ 

तर जुत्ता फिर्ता नहुँदै उनीहरू बसाइँ सरे । 

एक महिनापछि बुवाले सम्राटलाई पानीखेती ल्याएपछि बल्ल आयुश्रीसँग उसको भेट भयो । धामीसँग भने भेट भएन । उनी त काशी पो गएका रहेछन् । 

आयुश्रीलाई देख्नासाथ सम्राट दौडेर उनीछेउ गयो । उसले पुष्पे खोलो बढेकाले जुत्ता फिर्ता गर्न नपाएको कुरा बतायो र जुत्ता आयुश्रीलाई दियो । आफूहरू बसाइँ सरेर अर्कै गाउँमा गएको कुरा पनि उसले बतायो । 

उनीहरू आँगनछेउ गए र धेरै कुरा गरे । आँगनभरि उफ्रे, हाँसे, दिनभरि । साँझ सम्राटहरू बिदा भए । 

जुत्ता फिर्ता गरेपछि सम्राट सपनामा बर्बराउन छोड्यो । उसको स्वास्थ्य पनि ठीक भयो । बेलाबेला आयुश्रीको कुरा भने गरि नै रह्यो ।

महेश पौड्याल

(महेश पौड्याल लेखक, समालोचक एवं अनुवादक हुन् । उनले बालबालिकाका लागि कथा, उपन्यास र नाटकका गरी नौ पुस्तक लेखेका छन् । उनी केन्द्रीय अङ्ग्रेजी विभाग, त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक हुन् ।)