सोमबार ०८ पुस, २०८१

नेपाली समय

Facebook Live Youtube Live

बालकथा – खुसीको घाम

रामकोटको एउटा घरमा विनिशा बस्छिन् । उनका बाबा अफिस जानुहुन्छ । आमा घरकै काम गर्नुहुन्छ । दादा कलेज जानुहुन्छ ।

उनको घरछेउमा धेरै रुखहरू छन् । बोटविरूवा उनलाई मनपर्छ । रुखमा गुँड   बनाएर बस्ने चराचुरूङ्गी र बेलाबेला रुखको फेदमा आएर थकाई मार्ने जनावर पनि उनलाई असाध्यै प्यारा लाग्छन् ।

स्कुलबाट घर आएपछि उनी जहिल्यै झ्यालमा बस्छिन् । उनको झ्यालबाट पूरै काठमाडौँ सहर देखिन्छ । अल्छी लाग्दा झ्यालबाहिर हेरेर मन आनन्दित बनाउँछिन् ।

एकदिन आइसक्रिम खाँदै विनिशा झ्यालबाट बाहिर हेर्दै थिइन् । उनले एउटा दुब्लो पुन्टे बाँदरले आफूलाई हेरिरहेको देखिन् । बाँदर उनलाई मनपर्छ । अझ भनौँ, बाँदरको चकचक गर्ने तरिका । साथीहरू भन्थे, ‘बाँदर त चकचके हुन्छ । मन्दिरमा चढाउन लगेको फूल–प्रसाद पनि खोसिदिन्छ, त्यस्तो जनावर पनि के मन पर्नु ?’ 

तर उनलाई लाग्थ्यो– सबै जनावर र मान्छेको आ–आफ्नै विशेषता हुन्छ । चकचक गर्नु बाँदरको विशेषता हो । प्रकृतिले नै बाँदरलाई चकचक गर्ने गुण जन्मजात दिएकी हुन् ।

विनिशाले त्यो बाँदरलाई हेरिरहिन् । बाँदरले पनि उसलाई हेरिरह्यो । यो बाँदरले के हेरेको होला ? मेरो आइसक्रिम पो हेरेको हो कि ? उनी छक्क परिन् ।

‘के हेरेको पुन्टे ?’ विनिशाले सोधिन् ।

पुन्टे केही बोलेन । विनिशातिर हेर्दाहेर्दै उसका आँखा टिलपिलाए । 

‘अरे ! के भो पुन्टे तिमीलाई ? अलि यता आऊ त !’

मायालु बोली गरेर विनिशाले पुन्टेलाई बोलाइन् । पुन्टे पनि विनिशाको नजिक आयो ।

‘हेर न पुन्टे, यो आइसक्रिम त म खाँदैछु । जुठो छ । तिमी पनि खान्थ्यौ होला !’ विनिशाले भनिन् ।

‘मलाई ज्वरो आएको छ । म आइसक्रिम खान्नँ । बरू...!’ पुन्टेले भन्यो । 

‘बरू के पुन्टे ?’ उनले सोधिन् ।

‘एक हप्तादेखि मैले केही खाएको छैन । मलाई सहारा दिने मेरो आफन्त पनि कोही छैन । मलाई ज्वरोको ओखती र केही खानेकुरा दिनु न !’ पुन्टेले भन्यो ।

पुन्टेको कुराले विनिशाको आँखामा आँसु आयो । स्कुलमा म्यामले भन्नुभएको थियो, ‘अरूलाई दुःख पर्दा सहयोग गर्नुपर्छ । त्यही नै ठूलो धर्म हो ।’ हत्तपत्त भान्सामा गएर विनिशाले पाउरोटी र गाजर ल्याइन् । गिलासमा मनतातो पानी पनि ।

‘ल यो खाऊ पुन्टे !’ उनले दिइन् ।

पुन्टेले खुरूखुरू पाउरोटी र गाजर खायो । विनिशाले हेरिरहिन् ।

‘पुन्टे पानी खाऊ गिलासमा छ,’ उनले भनिन् ।

पुन्टेले गिलासको पानी मान्छेले जस्तै गरी पियो । यो देखेर विनिशा छक्क परिन् । 

‘दिदी, म जान्छु अब,’ पुन्टेले भन्यो ।

‘तर तिमीलाई मैले ओखती दिएकै छैन, एकछिन पर्ख, ममी आएपछि तिमीलाई उहाँले ओखती दिनुहुन्छ,’ विनिशाले भनिन् ।

‘तपाइँको ममी हुनुहुन्छ ? तपाइँ त कति भाग्यमानी है !’ पुन्टेले भन्यो । 

‘ममी, बाबा, अनि दादा पनि हुनुहुन्छ तर पुन्टे, तिम्रो ममी हुनुहुन्न र !’ विनिशाले सोधिन् ।

पुन्टे केही बोलेन । आँसु खसायो । रोयो पनि । त्यही बेला विनिशाकी ममी आउनुभयो । हत्तपत्त विनिशाले ममीलाई सबै कुरा भनिन् । ममीले पुन्टेलाई मायाले हेरेर ‘पुन्टे, हिँड बैठक कोठामा’ भन्नुभयो । विनिशा र ममीसँगै पुन्टे बैठक कोठामा गयो । 

‘ममी, पुन्टेलाई ज्वरो आएको छ । हिजो हजुरले खाएको ओखती बाँकी छ, ल्याएर दिऊँ ?’ विनिशाले भनिन् ।

‘अँ हँ, हुन्न । त्यो त पेट दुखेको ओखती हो । पुन्टेलाई ज्वरो पो आएको छ त, कहाँ पेट दुख्दा खाने ओखती दिने कुरा गरेकी तिमीले ? फेरि डाक्टरलाई नदेखाई ओखती खानुहुन्न भन्ने कुरा बुझेकी छैनौ तिमीले ?’ विनिशाकी ममीले भन्नुभयो ।

डाक्टरको सल्लाहअनुसार मात्रै ओखती खानुपर्छ । बिरामी हुनेबित्तिकै आत्तिएर जुन पायो त्यही ओखती पनि खानुहुन्न भन्ने नयाँ कुरा विनिशाले थाहा पाइन् ।

पशु स्वास्थ्य क्लिनिक नजिकै थियो । विनिशाकी ममीले त्यहीँबाट ओखती ल्याउनुभयो । पुन्टेले ओखती खायो । 

‘अब म जान्छु,’ पुन्टेले भन्यो । 

‘ल ल जाऊ, घरमा बाबा–ममीले पर्खिरहनुभएको होला,’ विनिशाकी ममीले भन्नुभयो ।

‘पुन्टेलाई आज यहीँ राखौँ न ममी । ऊ बिरामी पनि छ के ! एक्लै कसरी जान्छ ऊ ?’ विनिशाको स्वरमा सहानुभूति थियो । 

विनिशा र उनकी ममीको कुराकानी हुँदै गर्दा पुन्टेका आँखाभरि आँसु भरिए । उसले मन थाम्नै सकेन, भक्कानिएर रोयो । 

‘अरे, तिमी किन रोएको ?’ विनिशाले सोधिन् ।

‘विनिशासँग छुट्नुप¥यो भनेर हो ? विनिशाले तिम्रो बाबा–ममी भएको ठाउँमा लगिदिन्छे नि हुन्न ?’ विनिशाकी ममीले भन्नुभयो ।

‘होइन आन्टी, विनिशासँग त पछि भेट भइहाल्छ नि,’ अब म यहाँबाट कहाँ जाने भनेर पो रोएको त ! मेरो जाने ठाउँ नै छैन,’ पुन्टेले रूँदै भन्यो ।

‘पुन्टे, तिम्रा बाबा–ममी नि !’ विनिशाले सोधिन् ।

‘एक हप्ताअगाडि जङ्गलमा आगो लाग्यो,’ पुन्टेले भन्यो ।

‘अनि के भो त !’ विनिशाकी ममीले सोध्नुभयो ।

‘जङ्गलका धेरै जीवजन्तु र चराचुरूङ्गी मरे । हामी पनि झन्डै आगोमा परेका थियौँ । बाबा–ममी र म भाग्दै थियाँै, उहाँहरू हराउनुभयो, म यहाँ आइपुगेँ,’ पुन्टेले भन्यो ।

‘ममी, पुन्टेका बाबा–ममीलाई खोज्न जाऔं न हामी ! भगवान पुन्टेका बाबा–ममीलाई जीवित राख है, म एउटा लड्डु चढाउँछु,’ विनिशाले बैठक कोठाको मन्दिरमा गएर हात जोड्दै भनिन् । 

‘पुन्टे, तिमी यहीँ बस अब । तिमी विनिशाको भाइ भयौ,’ विनिशाकी ममीले भन्नुभयो ।

पुन्टेले आँसु पुछ्यो ।

विनिशाले पुन्टेलाई हेरिरहिन् । जङ्गलमा आगो लगाउनुहुन्न भन्ने कुरा पनि बुझिन् । ‘ममी, पुन्टेलाई अब हामीसँग राख्ने है ! ऊ एक्लो छ । उसलाई हाम्रो सहारा चाहिएको छ । उसलाई सहारा दिनु हाम्रो कर्तव्य पनि त हो,’ विनिशाले भनिन् ।

‘विनिशा दिदी ! बाबा–ममीलाई धेरै माया गर्नु है ! बाबा–ममी नहुँदा त हामी सहाराविहीन हुन्छौँ,’ पुन्टेले विनिशालाई सुझायो ।

विनिशाले बाबा–ममीको महत्व बुझिन् । खाना खाने बेला, पढ्ने बेला र टिभी हेर्ने बेला बाबा–ममीसँग सधैँ झगडा गर्ने विनिशाले अबदेखि त्यसो नगर्ने प्रण गरिन् ।

विनिशा र पुन्टेले कुरा गरेको हेरिरहेकी विनिशाकी आमाले मनमनै भगवान भाकिन् र भनिन्, ‘यो पुन्टेका बाबा–आमालाई केही नहोस् । चाँडै यसले बाबा आमा भेटोस् !’ हराएका खुसी फेरि फर्केर आउन् । यिनीहरूको जीवनमा फेरि खुसीको घाम झुल्कियोस् ।
 

महेश कार्की  क्षितिज

(महेश क्षितिज शिक्षण पेसामा आबद्ध हुनुहुन्छ । साहित्यका सबैजसाे विधामा कलम चलाउनुहुन्छ । कविता र समालाेचनामा उहाँकाे विशेष लगाव छ । उहाँका 'व्यावहारिक समालाेचनाका केही आयाम' र 'एक्लाे महारथी' कृति प्रकाशित छन् । उहाँले नेपाली विषयमा एमफिल गर्नुभएकाे छ ।)