नेपालको मौलिक र ऐतिहासिक परम्परा : जीवित देवता कुमारी
काठमाडौं, ललितपुर, भक्तपुरलगायत दर्जन सहरमा कुमारीका फरक–फरक परम्परा छन्
कुमारी प्रथा नेपालको मौलिक र ऐतिहासिक परम्पराका रूपमा रहेको छ । यस प्रकारको प्रथा नेपालमै मात्र छ । कुमारीलाई जीवित देवता पनि मानिन्छ । काठमाडौं उपत्यकाको सांस्कृतिक सम्पदाका रूपमा रहेको कुमारी प्रथा अन्तर्राष्ट्रिय रूपमै चासोको विषय हो । यसमाथि धेरै अनुसन्धान पनि भएका छन् ।
पयर्टकका लागि पनि कुमारी प्रमुख आकर्षण बन्ने गरेको छ । काठमाडौं उपत्यकाका कुमारीका फरक–फरक परम्परा रहेका छन् । काठमाडौं, ललितपुर, भक्तपुरलगायत एक दर्जन सहरमा कुमारी प्रथा कायम छ । केही परम्परा भने लोप भइसकेका छन् ।
कुमारीलाई केहीले महालक्ष्मी त केहीले वज्रदेवीको प्रतीक मान्ने गर्छन् । यस्तै केहीले तलेजु भवानीको प्रतीक पनि मान्छन् । मल्ल राजाको पालामा कुमारी परम्परा सुरु भएको थियो । काठमाडौं, ललितपुर र भक्तपुर तीनै सहरमा रहेका कुमारी वज्राचार्य र शाक्य कुलको हुने गर्छन् । कुमारी चयनको आफ्नै अलग परम्परा पनि छ । रजस्वला हुनुअगाडिकी कन्या केटीलाई धार्मिक र तान्त्रिक परम्पराअनुसार कुमारी बनाइन्छ ।
त्यसमध्ये प्रमुख परम्परा काठमाडौंमै छ । राजासँग जोडिएको हुनाले यसलाई राजकीय कुमारी पनि भनिन्छ र यसको विशेष महत्व भएको हो । नेपालमा गणतन्त्र सुरु भइसकेपछि यसलाई देशकै मूल कुमारी परम्परा मानिएको छ । यसको स्थापना जयप्रकाश मल्लको पालामा नेपाल संवत ८७७ मा भएको थियो ।
अहिले वसन्तपुरमा रहेको कुमारी घरको स्थापना पनि त्यति नै बेला भएको मानिन्छ । सबैभन्दा पहिले भक्तपुरमा कुमारी परम्परा सुरु भएको मानिन्छ र त्यसको स्थापना राय मल्लले गरेका थिए । काठमाडौंमा मनाइने प्रमुख जात्रामा इन्द्रजात्रा पनि पर्छ र यही बेला कुमारीको रथ यात्रा निकालिन्छ । इन्द्रजात्रा भाद्र शुक्ल द्वादशीबाट सुरु हुन्छ र भाद्र कृष्ण चौथीसम्म चल्छ ।
इन्द्रजात्रालाई नेपालभाषामा येँ याः भनिन्छ । त्यसको अर्थ काठमाडौंको यात्रा भन्ने बुझिन्छ । यसले प्रस्ट पार्छ, इन्द्रजात्रा काठमाडौंको मौलिक परम्परा हो र यसैक्रममा यहाँको मौलिक कुमारीको रथ यात्रा निकालिन्छ । ०६४ सालमा काठमाडौंमा कुमारी परम्परा सुरु भएको २ सय ५० वर्ष पुगेको अवसरमा विशेष कार्यक्रमसमेत आयोजना गरिएको थियो ।
प्रतिक्रिया